डुब्न लागेको विद्यालय बचाउने शिक्षक ओलीको प्रेरक प्रयास: ९५ विद्यार्थीलाई सहयोग
सल्यानको शारदा नगरपालिका-५, तल्लो मार्केमा रहेको श्री जनकल्याण प्राथमिक विद्यालय, २०८० सालमा मर्ज हुने सूचीमा थियो र जम्मा पाँच जना विद्यार्थीमा सीमित थियो, आज ९५ जना बालबालिकाको भविष्य बोकेर 'उदाहरणीय मोडल विद्यालय' बनेको छ। यो चमत्कारिक परिवर्तनको केन्द्रमा एक शिक्षकको असाधारण त्याग र समर्पण रहेको छ, जसले मर्न लागेको विद्यालयलाई पुनर्जीवन दिएका छन्।
शिक्षक कृष्णबहादुर ओलीको आगमनपछि विद्यालयको भाग्य पूर्ण रूपमा परिवर्तन भयो। उहाँले हार नखाई घर–घर पुगेर निजी विद्यालयमा गएका बालबालिकालाई फिर्ता ल्याउनुभयो र अभिभावक तथा समुदायलाई संगठित गर्नुभयो। उहाँको अथक मेहनत र प्रयासले केही महिनामै विद्यार्थी संख्या ५ बाट ९५ पुग्यो, जसले विद्यालयलाई बन्द हुने खतराबाट जोगायो।
शिक्षक ओलीकै पहलमा विद्यालयमा असहाय बालबालिका लक्षित छात्रावास सुरु भयो, जसले अभिभावकविहीन, हेरचाह नपाएका र बेवारिसे अवस्थामा रहेका ३१ जना बालबालिकालाई निःशुल्क बसोबास, खानपान र पढाइको सुविधा दिँदै आएको छ। हाल समुदायका अगुवा गंगाराम रोकाले निःशुल्क उपलब्ध गराएको घरमा छात्रावास सञ्चालन भइरहेको छ, तर नगरपालिकाको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माणको कार्य पनि अगाडि बढेको छ।
समुदायलाई असाहाय छात्रबास र बिधालयलाई जोड्ने शिक्षक ओलीकाे प्रयास स्वरुप विद्यालयको यो प्रेरणादायी कार्यलाई सहयोग पुर्याउन दुई महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भए। पहिलो कार्यक्रममा डिभिजन वन कार्यालय सल्यानका प्रमुख तथा डिभिजनल वन अधिकृत टेकबहादुर रावलले आफ्नो जन्मदिनको अवसरमा छात्रावासमा आश्रित असहाय बालबालिकाका लागि खाद्यान्न सामग्री वितरण गर्नुभयो। जन्मदिनमा असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुसी लागेको उहाँले बताउनुभयो।
दोस्रो कार्यक्रममा शारदा नगरपालिका-५ का वडा अध्यक्ष प्रदीप शाहीको उपस्थितिमा वडाको तर्फबाट जनकल्याण आधारभूत विद्यालयका सबै ९५ जना विद्यार्थीलाई विद्यालयमा न्यानो कपडा वितरण गरियो। वडा अध्यक्ष शाहीले विद्यालय शिक्षकहरूको मेहनत, समुदायको विश्वास र असहाय बालबालिकाको आशाको केन्द्र बनेको भन्दै वडाले विद्यालयका लागि सदैव दिल-ज्यान दिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षक कृष्णबहादुर ओलीले रावलको सहयोगप्रति आभार व्यक्त गर्दै असहाय बालबालिकालाई सहयोग गर्नु ठूलो पुण्यको काम गरेको अनुभुती भएको बताए। रावतका अनुसार विद्यालय मर्ज हुनबाट जोगाएर, छात्रावासको पुनर्जीवन दिँदै नयाँ भवन, तरकारी खेतीदेखिको प्रयासदेखी बालबालिका हेरचाहसम्मका काम गर्नु 'जिउँदो भगवानको काम' हो, जुन समुदाय र नगरपालिकाको सहयोगमा शिक्षक कृष्ण ओलीले अकल्पनीय काम गर्न सम्भव भएको छ।
शिक्षक ओलीले विद्यालयलाई केवल सैद्धान्तिक शिक्षामा सीमित राखेका छैनन्। उनले शुक्रबारलाई 'बुक फ्री डे' घोषणा गरी विद्यार्थीलाई बत्ती बनाउने, जेरी-पकौडा बनाउने, वाककला तथा उद्द्घोषक तालिम लिने र सामान्य ज्ञान अध्ययन गर्ने गरी चार समूहमा विभाजन गरेर उनीहरूको क्षमता र इच्छा अनुसार व्यवहारिक सिपमूलक शिक्षा दिने कार्य गराएर विद्यालयलाई जिल्लाकै नमुना बनाएका छ्न ।
विद्यालयको छात्रावासका बालबालिकाले आफूले खाने तरकारी तथा अन्नबाली आफैँ उत्पादन गर्ने आत्मनिर्भर छात्रावास कार्यक्रम पनि अघि सारेको छ। यसका साथै, कालीबहादुर बुढाथोकीले छात्रावासले उपयोग गर्नसक्ने गरी ४ रोपनी खेतीयोग्य जमिन दान गरेका छन् भने गंगाराम रोकाले २०८२ जेठदेखि आफ्नै घर, बिजुली, पानी र घर चलाउने सम्पूर्ण खर्च निशुल्क छात्रावासलाई उपलब्ध गराउँदै आएका छन्, जसले समुदायको अपार योगदान झल्काउँछ।
छात्राबासमा खाद्यान्न सहयोग कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता,डिभिजन बन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलको प्रमुख आतिथ्यतामा शिक्षक कृष्ण बहादुर ओली, स्थानिय र बालबालिकाहरुको उपस्तिथि रहेको थियो, भने न्यानो कपडा बितरणमा कार्यक्रममा वडा अध्यक्ष प्रदीप शाहीको अध्यक्षता, शिक्षा विकाश तथा समुनय इकाइ सल्यान का इकाइ प्रमुख शेर बहादुर राेकायको प्रमुख आतिथ्यतामा पत्रकार, स्वयंसेवक तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन शिक्षक कृष्णबहादुर ओलीले गरेका थियो।
