सरकारले चुनावको वातावरण बनाउन ध्यान दिएन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावको वातावरण बनाउनेतर्फ ध्यान नदिएको टिप्पणी गरेका छन्।
भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरूको राहदानी रद्द गर्ने, स्थानहद तोक्ने र निषेधाज्ञा लगाउने कामलाई चुनावी वातावरण बनाएको भनेर प्रश्न गरे।
‘नेताहरूको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा—यही हो चुनावको वातावरण बनाएको ?’ ओलीले प्रश्न गरे।
उनले सरकारको म्यान्डेट आगामी २१ फागुनमा चुनाव गराउने रहेको भए पनि त्यसअनुसारको वातावरण तयार पार्न आवश्यक गृहकार्य नगरेको आरोप लगाए। राजनीतिक दलहरूको विश्वास जित्ने काम सरकारबाट हुन नसकेको उनको भनाइ थियो।
जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता हुन बाँकी रहेको, फरार कैदीबन्दीलाई पनि नियन्त्रणमा नल्याइएको अवस्थामा सरकारले नेताहरूको राहदानी रद्द गर्ने र स्थानहद तोक्ने निर्णय गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष ओलीले मतदानको स्वतन्त्रता सुरक्षित हुने र निष्पक्ष प्रतिस्पर्धा सम्भव हुने वातावरणमा एमाले चुनावबाट नभाग्ने स्पष्ट पारे। तर हाल त्यस्तो वातावरण नबनिरहेको भन्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेकोसमेत उल्लेख गरे।