पाल्पाको निस्दीमा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको सनाखत
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा आज भएको जिप दुर्घटनामा परि मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार मृत्यु हुनेमा निस्दी–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चा रहेको पुष्टि भएको छ। अर्की एक महिलाको पहिचान भने खुल्न बाँकी छ।
दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरूमा नौ वर्षीय नेवराज खाम्चा, पाँच वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीया भूमिसरा सुनारी, ४१ वर्षीय सुन्दर सुनार, उनका १० वर्षीय छोरा लविस सुनार, पाँच वर्षीय छोरी प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन्।
घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको जानकारी छ।
लु १ ज ३९०८ नम्बरको फोर्स जिप अरुणखोलादेखि रामपुरतर्फ जाँदै गर्दा चिउरीवासमा उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ पछाडि सरी दुर्घटना भएको बताइएको छ। जिप सडकबाट करिब १,२०० मिटर तल खसेको थियो।
सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।