लोकतन्त्र अझै जीवित छ, एमाले अजम्बरी छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै कायम रहेको र नेकपा एमाले अजम्बरी पार्टी भएको दाबी गरेका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि भएको ‘जेनजी आन्दोलन’को स्मरण गर्दै त्यसबेला देश युद्धभूमिजस्तै बनेको बताएका हुन्।
उनले संविधान, लोकतन्त्र र राजनीतिक दलमाथि भीषण हमला भएको उल्लेख गर्दै पुराना पार्टी र नेताहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्य निर्माण गर्ने प्रयास गरिएको बताए।
‘जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो, आततायीबाट जलाइएको थियो। संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण आक्रमण गरिएको थियो,’ ओलीले भने, ‘पुराना पार्टी सकिए, पुराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य निर्माण गर्ने प्रयास गरियो।’
तर ती सबै चुनौतीलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको उनको दाबी थियो।
‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज यहाँ जनसागर ओर्लिएको छ,’ उनले भने, ‘यो जनसागर देखेर म ढुक्कसँग भन्न सक्छु—लोकतन्त्र अझै छ र नेकपा एमाले अजम्बरी छ।’
उनले जनताको सहभागिताले लोकतन्त्र र पार्टीप्रतिको भरोसा अझ बलियो बनेकोसमेत उल्लेख गरे।