क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सल्यानमा २२ बुँदे मागसहित ध्यानाकर्षणपत्र, संगठन विस्तारमा उल्लेख्य प्रगति
सल्यान । क्रान्तिकारी कम्युनिस्ट पार्टीले सल्यान जिल्लामा आफ्नो संगठन विस्तारलाई तीव्र बनाउँदै जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा २२ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
आईतबार पार्टीका जिल्ला सेक्रेटरी हेमन्त वलीको नेतृत्वमा ७ सदस्यीय टोलीले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुबेदीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। पछिल्लो समय सल्यान जिल्लाभर पार्टीको संगठन निर्माण र जनसम्पर्क अभियानमा उल्लेख्य प्रगति भइरहेको पार्टीको दाबी छ।
ध्यानाकर्षणपत्रमा मुक्त कमैया, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान, कृषि उत्पादन वृद्धि, किसानलाई मलको सहज आपूर्ति, कालोबजारी र विचौलिया नियन्त्रण, विषादीयुक्त आयातित फलफूल तथा तरकारी रोक, कृषि उत्पादनको उचित मूल्य र बजार व्यवस्था, अवैध क्रसर उद्योग तथा नदीजन्य पदार्थको उत्खनन नियन्त्रण, सहकारी, लघुवित्त, बैंक तथा वैदेशिक रोजगार पीडितलाई न्याय, शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने चर्को शुल्क नियन्त्रण, यातायात भाडादरको मनपरी अन्त्य, अघोषित लोडसेडिङ रोक, राप्ती लोकमार्गअन्तर्गतका सडक निर्माण शीघ्र सम्पन्न, दैनिक उपभोग्य वस्तुमा महँगी र कालोबजारी नियन्त्रण, सरकारी निकायमा हुने भ्रष्टाचार अन्त्य तथा प्राकृतिक प्रकोप पीडितलाई राहत र पुनर्वासको माग समेटिएको छ।
