खोटाङमा कुकुरलाई झुण्ड्याएर हत्या गर्ने अभियुक्त अदालत पठाइयो
काठमाडौँ, २६ मंसिर — खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकामा कुकुरलाई झुण्ड्याएर कुटपिट गरी निर्दयी तरिकाले हत्या गरेको आरोपमा बाबुराम मगरलाई अनुसन्धानका लागि जिल्ला अदालत पठाइएको छ।
घटनाअनुसार बाबुराम मगरको भाले कुकुर र छिमेकीको पोथी कुकुरबीच संसर्ग भइरहेको बेला छुटाउने क्रममा भाले कुकुरले उनका भतिजलाई टोकेको थियो। उक्त घटनापछि रिसको झोंकमा मगरले पोथी कुकुरलाई झुण्ड्याएर कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मगरले कुकुर हत्या गरेको फोटो फेसबुकमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो। फेसबुक पोस्टमा उनले सामुदायिक कुकुर मारेको उल्लेख गरे पनि प्रहरीलाई दिएको बयानमा आफ्नै कुकुर मारेको बताएका छन्।
विराटनगरकी पशु अधिकारकर्मी एलिना प्रसाईंले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो र स्क्रिनशट संकलन गरी खोटाङ प्रहरीलाई जानकारी गराएकी थिइन्। जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाई पशुपन्छीसम्बन्धी कसुरमा म्याद थप गर्दै अनुसन्धान अघि बढाएको थियो। त्यसलगत्तै अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टीएफसी नेपालका संस्थापक तुलाराज राजवंशी र एलिनाज एनिमल प्रिजर्भेसन सेन्टरकी एलिना प्रसाईंको समन्वयमा प्रहरी कार्यालयमा मुद्दाको फलोअप गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार आज अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला अदालत पठाइएको हो।
पक्राउपछि अभियुक्तसँग भेट गरेका अधिकारकर्मीहरूका अनुसार उनले घटनाप्रति पश्चाताप व्यक्त गरेका छन्। भेटका क्रममा उनले हात जोडेर बारम्बार माफी माग्दै ‘मबाट ठूलो गल्ती भयो, अब यस्तो कहिल्यै गर्दिनँ, बरु सामुदायिक कुकुरहरूको हेरचाह गर्छु’ भन्दै प्रतिबद्धता जनाएको एलिना प्रसाईंले बताइन्। तुलाराज राजवंशीले पनि अभियुक्तले आफ्नो गल्ती स्वीकार गर्दै पश्चाताप गरेको जानकारी दिए।
नेपालको पशुपन्छीसम्बन्धी ऐनअनुसार पशुप्रति यस्तो क्रूर व्यवहारमा जरिवाना वा कैद सजाय हुन सक्ने व्यवस्था छ। पशु अधिकारकर्मीहरूले घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाहीको माग गर्दै यसले खोटाङमा पशु अधिकारप्रति सकारात्मक सन्देश र चेतना बढाएको बताएका छन्।