घोराही–तुलसीपुर सडक अतिक्रमण हटाउन सडक डिभिजन दाङको १५ दिने अल्टिमेटम
काठमाडौँ । सडक डिभिजन कार्यालय दाङले घोराही–तुलसीपुर सडक खण्डको दायाँ–बायाँ गरिएको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ।
डिभिजनले शनिबार सार्वजनिक सूचना प्रकाशित गर्दै सडक सीमाभित्र रहेका सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएको हो। कार्यालयका अनुसार हाल उक्त सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ, तर सडक निर्माण क्षेत्रभित्र विभिन्न अवैध गतिविधिका कारण निर्माण कार्य प्रभावित हुँदै आएको छ।
सडक डिभिजन दाङका अनुसार केन्द्र रेखादेखि १५/१५ मिटर दायाँ–बायाँ क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने, व्यापारिक तथा निर्माण सामग्री थुपार्ने, सडक किनारामा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने जस्ता कार्यले सडक निर्माणमा असहजता सिर्जना गरेको छ।
सूचनामा भनिएको छ, *“सडक निर्माण कार्य गर्न असहजता हुने भएकाले उल्लेखित क्रियाकलापहरू नगर्नु/नगराउनुहुन तथा गरेको भए १५ दिनभित्र हटाउन यो सूचना प्रकाशन गरिएको हो।”*
तोकिएको १५ दिनको अवधिभित्र सडक सीमा खाली नगरेको पाइएमा डिभिजनले अनधिकृत संरचना आफैं हटाउने वा भत्काउने चेतावनी दिएको छ। साथै, संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने पनि सडक डिभिजनले स्पष्ट पारेको छ।