भिजिट भिसा अनियमितता काण्डः सहसचिव तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा
भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुनछेक बहस सकिएको छ। बहसपछि विशेष अदालतले भट्टराईलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्दै बाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीराज श्रेष्ठको इजलासले आदेश सुनाएको हो। निर्णयमा बहुमत हस्ताक्षर भए पनि इजलासभित्र राय बाझिएको खुलेको छ। अध्यक्ष भट्ट र सदस्य पौडेलले २५ लाख धरौटी माग्ने पक्षमा राय राखे भने सदस्य श्रेष्ठले पुर्पक्षका लागि प्रतिवादीलाई थुनामा राख्नुपर्ने भन्दै फरक मत प्रस्तुत गरेका थिए।
भट्टराई विरुद्धको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ।