स्वदेशी उत्पादन प्रवर्द्धनका लागि ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी सुरु
काठमाडौं । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले वृहत ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी सुरु भएको छ।
ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लबमा शनिबार एकदिने स्वदेशी बजार आयोजना गरिएको हो। प्रदर्शनीमा साना, मझौला तथा घरेलु उद्योगका ४० भन्दा बढी स्टल राखिएका छन्।
प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित वस्तु, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थलगायत विभिन्न उत्पादन निर्माणसम्बन्धी उद्योगहरूको सहभागिता रहेको छ।
आयोजकका अनुसार प्रदर्शनीले नेपाली उत्पादनको प्रवर्द्धन गर्नुका साथै स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि र घरेलु उत्पादकलाई बजार पहुँचमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अन्तर्गत उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार आयोजना गरिएको हो।