एनपीएलमा सुदूरपश्चिम रोयल्स प्लेअफमा पहिलो टोली बन्न सफल
१३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। शनिवार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले जनकपुरले दिएको १४६ रनको लक्ष्य १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमका इशान पाण्डेले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए। उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। शुरुवातमै दुई विकेट गुमाएको टोलीका लागि इशान र विनोद भण्डारीले ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जित सुनिश्चित गरे। विनोदले ४९ बलमा ४२ रन बनाए भने हर्मित सिंहले १० बलमा अविजित २५ रनको योगदान दिए। बलिङतर्फ जनकपुरका माज सदाकतले २ विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले लिग चरणमा दुई खेल बाँकी रहँदा शीर्ष चारमा आफ्नो स्थान पक्का गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
साविक विजेता जनकपुरको यो लगातार चौथो हार हो। लगातार हारपछि जनकपुर लिग चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ। अंकगणितीय दृष्टिले सम्भावना भने बाँकी छ, तर बाँकी तीन खेल सबै जिते पनि अन्य टिमको नतिजा अनुकूल हुनुपर्छ।
जनकपुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो र सञ्जय कृष्णमूर्तिको अर्धशतकमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। कृष्णमूर्तिले ५० रन र जान लफ्टी इटनले ३९ रन योगदान गरेका थिए। सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।