अनेरास्ववियुमा नेतृत्व परिवर्तनको प्रयासप्रति प्रकाश पौडेलको आपत्ति
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्र नेतृत्व परिवर्तन गर्ने प्रयास भइरहेको भन्दै विद्यार्थी नेता प्रकाश पौडेलले पार्टी शीर्ष नेताहरूलाई कडा चेतावनी दिएका छन्। उनले संगठनका महत्त्वपूर्ण निर्णयहरू केन्द्रीय समितिको बैठकमार्फत मात्रै गर्नुपर्ने र कुनै गुटबन्दीले समस्या समाधान नहुने स्पष्ट गरेका छन्।
पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै हाल संगठनभित्र भइरहेको नेतृत्व परिवर्तन प्रयासप्रति कडा असन्तुष्टि जनाएका छन्।
उनले फेरि केही समूहहरूले गुटबन्दीमार्फत अखिलको नेतृत्व बदल्न खोजिरहेको आरोप लगाउँदै, यस्तो निर्णय एकतर्फी ढंगले लान खोजिएमा ‘सशक्त प्रतिवाद’ गर्ने चेतावनी दिएका छन्। पौडेल अघिल्लो महाधिवेशनमा डा. सुजन कडरियासँग अध्यक्ष पदमा पराजित भएका थिए।