सल्यानमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन
क्रान्तिकारी कम्युनिस्ट पार्टीले वर्तमान सरकारविरुद्ध आक्रामक रूपमा सडक प्रदर्शन गरेको छ।
पार्टीको जिल्ला समिति, सल्यानले मिति २०८२ कात्तिक २८ गते (शुक्रबार) शारदा नगरपालिका-१ श्रीनगरमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको हो।
सल्यान जिल्ला कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले “स्वाधीन स्वायत्त सरकार गठन गरौँ” र “कठपुतली सरकारले राजीनामा दे” जस्ता नारा लगाएका थिए।
जिल्ला सेक्रेटरी उज्ज्वलको अध्यक्षतामा भएको सभामा केन्द्रीय सदस्य नवीन बारुद प्रमुख अतिथि थिए। केन्द्रीय सदस्य बारुद: 'सरकार जनमतको होइन, विदेशीको प्रभावमा बन्यो'
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नवीन बारुदले वर्तमान सरकारको तीव्र आलोचना गरे। उनले सरकारलाई सीधा आरोप लगाउँदै भने, "यो सरकार अमेरिका र भारतको प्रभावमा बनेको कठपुतली सरकार हो। यो सरकार जनमतको प्रतिनिधित्व गर्ने होइन, विदेशी शक्तिको इसारामा चलिरहेको छ।"बारुदले सरकारले जनभावना विपरीत काम गरिरहेको भन्दै तत्काल राजीनामा दिएर स्वायत्त सरकार गठन गर्नुपर्ने र जनवादी क्रान्ति अगाडि बढाउनुपर्ने पार्टीको स्पष्ट धारणा राखे।
जनतालाई क्रान्तिमा गोलबद्ध हुन आह्वान
कार्यक्रम सञ्चालन गरेका जिल्ला सेक्रेटरी उज्ज्वलले जनतालाई गोलबद्ध हुन आह्वान गरे। उनले सम्बोधनका क्रममा भने, "सम्पूर्ण सल्यानवासी नागरिक तथा देशैभरका क्रान्तिकारी शक्तिहरू वर्तमान कठपुतली सरकारलाई अपदस्थ गर्न र स्वायत्त सरकार गठन गरी जनवादी क्रान्तिमा लाग्न अब गोलबद्ध हुनुपर्छ।"कार्यक्रममा केन्द्रीय सदस्य मोतिराम खड्कासहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।