के इजरायल र हमासले युद्ध अन्त्य गर्ने अवसरको सदुपयोग गर्लान् त ?
दुई वर्षदेखि जारी गाजा युद्धको विनाश र हत्या अन्त्य गर्ने तथा इजरायली बन्धकहरूलाई (जीवित वा मृत) उनीहरूको परिवारमा फर्काउने सम्झौताको अवसर अहिले देखिएको छ। इजिप्टको शर्म एल-शेखमा भइरहेको यो वार्ता एक संयोगको रूपमा हमासले इजरायलीहरूमाथि आघात पुर्याकएको ठीक दुई वर्षपछि हुन लागेको हो।
अक्टोबर ७ को हमास आक्रमणमा करिब १,२०० मानिस, अधिकांश इजरायली नागरिक, मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो। इजरायलले २० जना बन्धक जीवित रहेको र २८ जनाको शव फिर्ता चाहेको अनुमान गरेको छ।
इजरायलको जवाफी सैन्य कारबाहीले गाजाको धेरैजसो भाग ध्वस्त पारेको छ जसमा ६६ हजारभन्दा बढी प्यालेस्टाइनीहरू मारिएका छन् । यसमध्ये १८ हजारभन्दा बढी बालबालिका छन्। यी तथ्याङ्कहरू हमास प्रशासनअन्तर्गतको स्वास्थ्य मन्त्रालयबाट आएका हुन्, जसलाई सामान्यतया विश्वसनीय मानिन्छ।
इजरायली र प्यालेस्टाइनी दुवै पक्ष युद्धको अन्त्य चाहन्छन्। इजरायलीहरू युद्धबाट थाकेका छन् र अधिकांश जनता बन्धक फिर्तासहित युद्ध अन्त्य गर्ने सम्झौताको पक्षमा छन्। गाजामा दुई करोडभन्दा बढी प्यालेस्टाइनीहरू मानवीय विपत्तिको चपेटामा छन् र इजरायलले सहायता प्रवेशमा लगाएको प्रतिबन्धका कारण भोकमरीको अवस्था सिर्जना भएको छ।
दुई वर्षअघि इजरायलमाथि विनाशकारी हमला गर्न सक्षम रहेको हमासको सैन्य सङ्गठन अहिले भग्नावशेषमा गुरिल्ला बलमा परिणत भएको छ। हमासले प्यालेस्टिनी टेक्नोक्र्याटहरूलाई शक्ति हस्तान्तरण गर्न सहमत भए पनि बाँच्ने उपाय खोजिरहेको छ।
उसले आफ्ना भारी हतियारहरू सुम्पिन स्वीकार गरेको छ, तर डेढ दशकको क्रूर शासन र हमलाले ल्याएको विनाशको बदला लिन चाहने प्यालेस्टाइनीहरूबाट आफूलाई बचाउन पर्याप्त हतियार राख्न चाहन्छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो फरक किसिमको अस्तित्व बचाउन लागिपरेका छन्। उनी आफ्नो शक्ति जोगाउन, भ्रष्टाचारसम्बन्धी मुद्दा स्थगित गर्न, अर्को वर्षको चुनाव जित्न र नाजी नरसंहारपछि यहुदीहरूका लागि सबैभन्दा घातक दिनको जिम्मेवार नेताको रूपमा इतिहासमा नाम लेखाउनबाट जोगिन चाहन्छन्। यसका लागि उनलाई बन्धक फिर्ता, हमासको विनाश र गाजाको असैन्यीकरणसहित ‘पूर्ण विजय’ घोषणा गर्ने विश्वसनीय तरिका आवश्यक छ।
हमास र इजरायली वार्ताकारहरू इजिप्ट र कतारका अधिकारीहरूको मध्यस्थतामा भेटिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे गाजा शान्ति योजना वार्ताको आधार बनेको छ। यो योजनाले जोर्डन नदी र भूमध्यसागर बिचको भूमिमाथि नियन्त्रणको लागि लामो द्वन्द्व अन्त्य गर्ने भनेर दाबी गरे पनि, यसमा प्यालेस्टाइन राज्यको अर्को भाग वेस्ट बैंकको भविष्यबारे उल्लेख गरिएको छैन।
साउदी अरबले इजरायलसँग सम्बन्ध सामान्य बनाउनका लागि स्वतन्त्र प्यालेस्टिनी राज्यको स्पष्ट र अपरिवर्तनीय बाटो बिना यो सम्भव नहुने बताएको छ। ट्रम्पले नेतन्याहूलाई प्यालेस्टिनी स्वतन्त्रताको सम्भावनाबारे अस्पष्ट रूपमा उल्लेख गरिएको कागजातमा हस्ताक्षर गर्न बाध्य पारेका थिए, जसलाई नेतन्याहूले पछि बेवास्ता गर्दै प्यालेस्टाइनीहरूले कहिल्यै राज्य नपाउने आफ्नो पुरानो अडान दोहोर्यानए।
यस वार्तामा मुख्य चुनौती भनेको इजरायली बन्धकहरूलाई इजरायली जेलमा आजीवन कारावास भोगिरहेका प्यालेस्टिनीहरू र युद्ध सुरु भएदेखि विना सुनुवाइ थुनामा रहेका गाजाका व्यक्तिहरूसँग साटासाट गर्ने सर्तहरू तय गर्नु हो।
हमास गाजाबाट इजरायल फर्कने र युद्ध अन्त्य गर्ने कडा समयतालिका बिना किन बन्धकहरू दिन तयार भयो भन्ने प्रश्न उठेको छ। कतारीहरूले ट्रम्पले बन्धकहरू फिर्ता भएपछि युद्ध अन्त्य गराउने विश्वास दिलाएको हुन सक्ने अनुमान गरिएको छ।
ट्रम्पले दुवै पक्षलाई दबाब दिन सकेका कारण अप्रत्यक्ष वार्ता इजिप्टमा भइरहेको छ। पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन, बाराक ओबामा र जो बाइडेनको तुलनामा डोनाल्ड ट्रम्प नेतन्याहूको हेरफेर गर्ने प्रयासको कडा र निर्णायक रूपमा विरोध गरिरहेका छन्। अमेरिकी सहयोग बिना इजरायलले गाजामा यस्तो लामो र क्रूर आक्रमण गर्न सक्ने थिएन।
दुवै पक्षको आन्तरिक दबाबका बाबजुद यो वार्ता सफल भयो भने एक शताब्दीभन्दा बढीको द्वन्द्वमा सबैभन्दा विनाशकारी र रक्तपातपूर्ण युद्धको अन्त्य हुन सक्छ। तर, ट्रम्पको २० बुँदे योजनामा रहेका खाली ठाउँहरू भर्नका लागि आवश्यक विस्तृत कूटनीति र कार्यान्वयनको लामो प्रक्रिया चुनौतीपूर्ण रहनेछ, जसले सम्झौतामा धेरै अवरोध ल्याउन सक्छ।