राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा झिक्दै आएको छ ।
दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो । आज नियमित पैसा निकाल्ने दिन रहेकाले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ११ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।