पोखरा महानगरकी तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठसहितविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–९ की वडा सदस्य तथा तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार कास्कीको पोखरा–२६ मा रहेको बाटोको विवादमा आफ्नो पक्षमा निर्णय गराउन सेवाग्राही रविन कुमार श्रेष्ठले भावना श्रेष्ठलाई दुई लाख रुपैयाँ घुस दिएको अनुसन्धानबाट देखिएको छ ।
न्यायिक समितिमा विचाराधीन उक्त विवादमा पक्षमा फैसला गरिदिने प्रलोभन देखाउँदै श्रेष्ठले रकम लिएको पाइएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबराबर जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
यस्तै, सोही प्रकरणमा सेवाग्राही रविन कुमार श्रेष्ठले पनि न्यायिक समितिको सदस्यलाई घुस दिएको पुष्टि भएकोले उनलाई समेत ऐनअनुसार कैद र जरिवाना सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।