मेडिकल पसलको आडमा लागुऔषध कारोबारको आरोपमा एकजना पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा मेडिकल पसल सञ्चालनको आडमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको पाइएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले आइतबार लागुऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति मौलापुर नगरपालिका निवासी २९ वर्षीय जितेन्द्र साह हुन्। साहले चेतनगरमा फार्मेसी खोलेर बस्दै आएका थिए। स्थानीय बासिन्दाका अनुसार साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकिछिपी लागुऔषधको कारोबार गर्दै आएका थिए।
प्रहरीले गुप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएको टोलीमार्फत छापा मारेको थियो। छापाको क्रममा साहको फार्मेसीबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
अनुसन्धानका क्रममा साहले बागमती, चन्द्रनिगाहपुर र वरपरका क्षेत्रका युवाहरूलाई नियमित रूपमा लागुऔषध उपलब्ध गराउँदै आएको तथ्य खुलेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीहरूका अनुसार चेतनगरजस्तो शान्त तथा एकान्त बस्तीमा साहले फार्मेसी खोल्नुको उद्देश्य नै लागुऔषध वितरण रहेको थियो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। लागुऔषध कारोबारमा संलग्नलाई कारबाही अघि बढाइने र यस किसिमका अवैध कार्यविरुद्ध कडा निगरानी गरिने इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका डिएसपी राजकुमार राईले जनाएको छ।