आठविस नगरपालिकामा नयाँ निर्माण व्यवसायी संघ गठन
दैलेखको आठविस नगरपालिकामा नयाँ निर्माण व्यवसायी संघ गठन भएको छ। संघको अध्यक्षतामा भरत कुमार सिजापाती (भास्कर) चयन भएका छन्। यस संघको गठनले नगरपालिकाका निर्माण व्यवसायीहरूको हकहितमा आवाज उठाउन र उनीहरूको समस्याहरूको समाधानका लागि प्रभावकारी कदम चाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिमा १३ सदस्य रहेका छन्। जसमा वरिष्ठ उपाध्यक्षमा तोपेन्द्र बहादुर चन्द, उपाध्यक्षमा रमेश माँझी, महासचिवमा पूर्ण बहादुर शाही, कोषाध्यक्षमा कपिल चन्द, सचिवमा विनोद शाही र सदस्यहरूमध्ये जनक बहादुर माँझी, बखत बहादुर शाही, दयाराम विक, धिरेन्द्र बहादुर कार्की, सुमित जैशी, गोर्कण बहादुर शाही र पवन शाही रहेका छन्।
संघको गठनसँगै आठविस नगरपालिकाका निर्माण व्यवसायीहरूलाई नगरपालिकाबाट केहि चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। संघका वरिष्ठ उपाध्यक्ष तोपेन्द्र बहादुर चन्दले भने, “हामीले नगरपालिकाबाट हाम्रो समस्यामा सुनुवाई नभएपछि यो कदम चालेका हौं। अब हामी सबै निर्माण व्यवसायीहरूको आवाज उठाउन र यस क्षेत्रको सुधारका लागि काम गर्ने छौं।”
संघका अध्यक्ष भरत कुमार सिजापाती (भास्कर)ले पनि आगामी दिनहरूमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्दै नगरपालिकामा हुने हरेक निर्माणका कामलाई उपलब्धिमूलक बनाउन संघ संलग्न रहने जानकारी दिए।
नयाँ गठन भएको संघले निर्माण व्यवसायीहरूको हितको पक्षमा विभिन्न योजनाहरू तयार गर्ने योजना बनाएको छ, जसले क्षेत्रीय निर्माण कार्यहरूको विकास र व्यवसायिक सुधारमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।