प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटका शीर्षकमाथि मन्त्रालयगत छलफल हुँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बिहान बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे बस्ने भएको हो । आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
आइतबार वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको हो ।
बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनेर खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद अमरेश कुमार सिंहले उक्त मन्त्रालयहरु शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ गरियोस भनेर खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको हो।
यसैगरी सांसद पुष्पबहादुर शाह, बद्री पाण्डे र रमा कोइराला पौड्यालले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।