प्रतिनिधि सभाको बैठकमा आज सुरक्षित कारोबार विधेयक टेबुल गरिंदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्ने भएको छ।
सोही बैठक सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । सोमबारको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी रहेको छ ।
त्यस्तै, बजेटका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलमा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, सांसदहरुले बजेट अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरुमा खर्च कटौतीको प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवायले जनाएको छ ।