प्रतिनिधि सभाको बैठकबाट आज आगामी आर्थिक वर्षको बजेट पारित गरिंने
काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बिहान पनि बस्ने भएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे बस्ने भएको हो। बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको हो ।
राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल सम्बन्धी विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसअघि सांसदले भिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने भएका हुन् । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीले दिने समेत सम्भावित कार्यसूची रहेको छ ।
परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो।