सेयर धितोमा ऋण दिने क्षमता २ खर्ब २० अर्ब, गयो एक तिहाइ मात्रै
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ऋण दिनसक्ने क्षमताको एक तिहाइ मात्रै कर्जा प्रवाह भएको पाइएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो उनीहरुले प्रवाह गर्नसक्ने क्षमताको ३९ प्रतिशत मात्रै हो ।
बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा अधिकतम आफ्नो कोर क्यापिटलको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने एकीकृत निर्देशन २०८० मा व्यवस्था छ । वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटल ५ खर्ब ५२ अर्ब रुपैयाँ बराबर छ । यसको ४० प्रतिशत भनेको २ खर्ब २० अर्ब रुपैयाँ हुन आउँछ ।
कोर क्यापिटलको ४० प्रतिशतभन्दा बढी प्रवाह भएमा कर्जा बराबरको रकम बैंक तथा वित्तीय संस्थाले प्राथमिक पूँजी कोषबाट घटाउनुपर्नेछ । यो व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अझै करिब १ खर्ब ३४ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा दिन सक्ने सुविधा (स्पेस) छ ।
बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा जथाभावी कर्जा नदिउन भन्ने अभिप्रायले कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै सेयर धितो कर्जा दिन पाउने व्यवस्था राष्ट्रबैंकले गरेको हो । तर, बैंकहरूले त्यो सीमाको तुलनामा अत्यन्तै न्यून मात्रै कर्जा लगानी गरेकाले यस किसिमको कर्जा लगानीमा बैंकहरू आफैं उत्साहित नभएको देखाउँछ ।