आइडीए २१ बैठक सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गर्नुभएको हो ।
विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने ९१८ जुन देखि २१ जुन २०२४० बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ ।
बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ ।
नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्था बारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।
दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्चस्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आइडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।