बजेट माओवादी केन्द्रतिर नभएर जनतातिर ढल्किएको अर्थमन्त्री पुनको दावी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा माओवादी केन्द्रतिर नभएर जनतातिर ढल्केको बताउनुभएको छ ।
संसद भवन बाहिर बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दवाव महशुस भयो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गर्नुभएको थियो । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताउनुभएको छ ।
उहाँले माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दावी गर्नुभएको हो ।
उहाँले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने,समग्र जनता, युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दावी गर्नुभयो । उहाँले हरेक ३ वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताउनुभएको छ । मजदुरहरुको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको उहाँले बताउनुभयो ।
अर्थमन्त्री पुनले सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको बताउनुभएको छ । सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।