ताप्लेजुङमा गएको पहिरोमा घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार
पहिरोमा घाइते भएका ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका पदमबहादुर लिम्बूको उद्धार गरिएको छ।
शुक्रबार राति ताप्लेजुङको सिरिजंगा गाँउपालिकामा गएको पहिरोमा परी घाइते भएका लिम्बूलाई आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीको पहलमा हेलिकप्टरबाट उद्धार गरी विराटनगर ल्याइएको हो।
घाइते लिम्बूलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको मन्त्री अधिकारीले जानकारी दिए। पालिका र जिल्लाबाट सूचना पाएसँगै उद्धारका लागि गृह मन्त्रालय र नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई शनिबार बेलुका ६ बजे विराटनगर ल्याएको उनले बताए।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले तत्काल उद्धारका लागि सुरक्षा निकाय, पालिका, जिल्ला सबैलाई सतर्क राखेको उनले बताए। तराई क्षेत्रमा बाढी हुँदा गोताखोर, पहाडी क्षेत्रमा पहिरो जाँदा सुरक्षासँगै राहत, त्रिपाल, खाद्यान्न र पीडितलाई राहतका लागि आर्थिक पाटो सुनिश्चित गरी राखिएको मन्त्री अधिकारीको भनाइ छ।
गत जेठ ३१ गते शुक्रबार ताप्लेजुङकै फक्तालुङ गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो। सो घटनामा समेत प्रदेश सरकारले पीडित परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो।