बागलुङमा बालबालिकालाई जेठ १३ देखि आईपीभी खोप लगाइँदै
काठमाडौं । बागलुङमा यस वर्ष ११ हजार ७ सय ७१ जना बालबालिकाका लागि यहि जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।
खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले सोही खोप नपाएकाले खोप अभियान सञ्चालन हुन लागेको हो । जिल्लाका १० वटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ ।
विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन ३ सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । कुनै पनि बालबालिका आईपीभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित ३ सय ३९ जना स्वास्थ्यकर्मी र ६ सय ८९ जना स्वयंसेवक खटाइने प्रमख आचार्यले बताउनुभएको छ ।
खोप व्यवस्थापन तथा अनुगमनका लागि ९५ जनालाई खटाइने उहाँको भनाइ थियो । स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने उहाँले बताउनुभयो ।
सोही अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल र स्वास्थ्यचौकीसँग सहकार्य गरिने प्रमख आचार्यले जानकारी दिनुभएको छ ।