मोरङको अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार
मोरङको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालन भइरहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ। प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले बालगृहको स्थलगत अनुगमन गरी उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकामध्ये पाँच जना बालक र नौ जना बालिका रहेका छन्। उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षणमा राखिएको छ। उनीहरूको सुरक्षा, संरक्षण तथा उचित व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।