पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते
काठमाडौं । पाल्पामा बुधबार राति बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी अन्य १४ जना घाइते भएको प्रहरीले बताएको हो । निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।
बुधबार राति नवलपुरको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
दुर्घटनाका घाइतेहरुको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । जीपका चालकसहित अन्य ११जनाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।