पशुपतिनाथ मन्दिरको भेटी चोर्ने कोषका नायव सुब्बा नवराजसहित ८ जना पक्राउ
काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने ८ जना पक्राउ परेका छन्।
मंगलबार मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा, लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई पक्राउ गरेर पनि अनुसन्धान थालिएको प्रहरीले बताएको हो ।
त्यस्तै, पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सीसी क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका हुन् । दैनिक ३ हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरी स्रोतले जनाएको छ ।