ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
काठमाडौं । ओखलढुंगामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी १८ जना घाइते भएको प्रहरीले बताएको हो । लिखु–४ हाइड्रोपावरका कामदार लिएर ड्यामतर्फ जाँदै गरेको ट्याक्टर ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-१ रगनीको होल्पुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
को २ त ८६२६ नम्बरको ट्याक्टर दुर्घटनामा १८ जना घाइते भएका र जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा खिजीदेम्बा गाउँपालिका-३ का २१ वर्षीय आयुष सुनुवार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा खिजीदेम्बा-३ का २७ वर्षीय सुनिल सुनुवार, रामेछापको उमाकुण्ड गाउँपालिका-७ का २६ वर्षीय मनोज नेपाली, सोही स्थानका ३१ वर्षीय श्यामबहादुर सुनुवार, २८ वर्षीय श्यामकुमार सुनुवार, ७० वर्षीय सञ्जय सुनुवार र २८ वर्षीय होमबहादुर सुनुवार रहेका छन् ।
शुक्रबार बिहान करिब ९ बजेको समयमा भएको सोही दुर्घटनाका १२ जना घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको हो । सोही ट्याक्टरमा जम्मा २० जना सवार रहेको प्रहरीले बताएको छ ।
ट्याक्टर चालक धनकुटाको महालक्ष्मी-५ का ३८ वर्षीय यमबहादुर निरौला प्रहरी नियन्त्रणमा रहेका छन् ।