गृहमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ ।
प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन, प्रहरीका कार्यालय, भन्सार जाँचपास र लगेज व्यवस्थापन लगायत क्षेत्रको उहाँले अनुगमन गर्नुभएको हो । गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख, विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ-आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याको बारेमा जानकारी गराउनुभएको छ।
मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीको बारेमा विशेष चासो व्यक्त गर्नुभएको हो । उहाँले बिदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणको बारेमा पनि चासो राख्नुभएको छ ।
मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन समेत निर्देशन दिनुभयो ।विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिंदै त्यसतर्फ ध्यान दिने पनि उहाँले बताउनुभएको छ ।