देशका अधिकांश स्थानमा आज पनि मेघगर्जन/चट्यांगसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु-पश्चिमी वायु र बीहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। साथै, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मंगलबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, कोशी, लुम्बिनी प्रदेशका पहाडी र देशका भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो। देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ। कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेशका र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
त्यस्तै, देशको उच्च पहाडी /हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।