आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक, कुन शीर्षकमा कति बजेट ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेकोे छ।
मंगलबार संघीय संसद अन्तर्गत संयुक्त बैठमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो चालू आर्थिक वर्षका तुलनामा करिब ६ प्रतिशतले धेरै हो।
आगामी वर्ष खर्च हुने प्रस्ताव गरिएको रकम मध्ये चालु खर्चका लागि ११ खर्ब ४९ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।
त्यस्तै, पूँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात १८.९४ प्रतिशत विनियोजन गरिएको हो । वित्तीय व्यवस्थाका लागि ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ।
आगामी वर्ष १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको हो। त्यसैगरी, ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएको छ। राजस्व र अनुदानबाट प्राप्त रकमले अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ आन्तरिक र बाह्य ऋण लिने प्रस्ताव गरिएको हो ।
जसमध्ये २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ विदेशी ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण हुने भएको छ।