कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नुको ६ वटा आधार र कारण यस्ता छन्...
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार साँझ पक्राउ गर्नुका ६ वटा आधार र कारण प्रहरीले दिएको छ ।
सिरोहियालाई पक्राउ गर्नुका ६ वटा आधार र कारण जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले प्रस्तुत गर्नुभएको हो ।
सिरोहियालाई पक्राउ गर्नुका ६ आधार र कारण तल उल्लेख गरिएको छ:
१.) कैलाश सिरोहियाले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै त्यहीं नम्बरको नागरिकता शिवजी साहु तेलीको नाममा जारी भएको देखिनु ।
२.) जिल्ला प्रशासन कार्यालय धनुषाको च.नं. १३२१३, मिति २०८१/०१/२० को पत्रअनुसार प्राप्त जवाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्मभएका नागरिकको नागरिकताको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) को सन्तानहरू गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया, पुनमकुमारी सिरोहियाको नागरिकता अंगीकृत नेपाली भएक, नाम प्रस्ट नभएको र कैलाश सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको ।
३.) कैलाश सिरोहियाले वि.स.२०५७/०६/२९ मा नागरिकताको प्रतिलिपि लिंदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटोसहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको र जन्ममितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्ममिति उल्लेख नरहेको ।
४.) सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्ममितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्ममिति थपेर कीर्ते गरेको देखिएको ।
५.) कैलाश सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्ममितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर,जन्ममिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको ।
६.) कैलाश सिरोहियाले नागरिकता लिंदा पेश गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको ।