२५६८ औं बुद्ध जन्म जयन्तीलाई आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औं बुद्ध जन्म-जयन्तीको अवसरमा बिहीबार बुद्धको पूजा, आराधना र प्रवचन गरी मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जन्म-जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप सोही पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले सोही दिन नेपाल लगायतका विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान गौतम बुद्धको २५६८औं जयन्ती शान्तिको कामना गर्दै बिहीबार देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा र बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजा लगायतका विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको हो ।
सोही अवसरमा लुम्बिनी, स्वयम्भु र बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।