आर्थिक वर्षको बजेटपछि आज शेयर बजार २३ दशमलव ८१ अंकले घट्यो
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटले शेयर बजारमा उत्साह आउन सकेन ।
मंगलबार संघीय सदनमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा शेयर बजार सुधार गर्ने ठोस कुरा केही पनि समेटेनन् । त्यसको प्रभाव बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत देखिएको छ ।
बजेट भाषण हुने अघिल्लो दिन अर्थात सोमबार नेप्से उच्चतम् २०८६.८३ विन्दुमा पुगेको थियो । सोमबार बजार बन्द हुँदा समेत नेप्से बढेर २ हजार १ सयको विन्दु भने कायम रहेको थियो । बजार बन्द हुँदा नेप्से २११३.२४ विन्दु काय गरेको थियो ।
तर, बजेट आएको दोस्रो दिन नेप्से २३.८१ अंकले घटेको छ । बुधबार प्रि-ओपन सेसनमा २० अंकले बढेको नेप्से १.१२ प्रतिशतले घटेर २०८९.४२ विन्दु कायम भएको हो । बुधबार ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १ सय ५९ कित्ता शेयर ६३ हजार ८० पटक किनबेच भएको छ ।
बुधबार ३ सय १४ वटा कम्पनीको शेयर कारोबार हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको हो । १ सय ९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
बुधबार सेन्सेटिभ इन्डेक्स ४.८२ अंकले, फ्लोट इन्डेक्स २.१७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको हो। बुधबार समूहमा पनि लगानीकर्ताले धेरै गुमाएका छन् । १३ वटा समूहमध्ये बुधबारसबै भन्दा बढी जीवन बीमा समूहको शेयर घटेको हो ।
जीवन बीमा समूह बुधबार १३४.६४ अंकले घटेको छ । बुधबार सबै भन्दा बढी उत्पादन समूहको शेयर बढेको हो । उत्पादनमा बुधबार १७०.०१ अंकले बढेको छ ।१३ समूहमा म्युचअल फण्ड बराबर भएको र अन्य ४ समूहको शेयर भने बढेको हो । ८ समूहको शेयर भने घटेको छ ।
बुधबार युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, माथिल्लो लोहोर खोला जलविद्युत र भगवती हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको हो ।