नेप्से आज २७ दशमलव ५४ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा गरेसँगै शेयर बजारमा उछाल आएको छ ।
सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको हो । सोमबार नेप्से १.३३ प्रतिशतले बढेर २ हजार ९२ विन्दु कायम भएको छ । सोमबार नेप्सेले २ हजार १ सय विन्दु पनि पार गरेको हो । तर नेप्से बन्द हुँदा भने नेप्से करिब २ हजार १ सय विन्दु मात्र कायम भएको छ ।
सोमबार साढे ५ अर्ब भन्दा बढीको कारोबार भएको हो । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता शेयर ८० हजार ९ सय ८२ पटक किनबेच भएको छ । सोमबार ३ सय १५ कम्पनीको शेयर कारोबार हुँदा १ सय ३४ वटा कम्पनीको शेयर मूल्य बढेको हो । १ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
सेन्सेटिभ इन्डेक्स ७.१३ अंकले, फ्लोट इन्डेक्स २.११ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । सोमबार १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको र ५ समूहको शेयर मूल्य भने घटेको नेप्सेले जनाएको हो । सोमबार सबै भन्दा बढी वाणिज्य बैंकमा लगानीकर्ताले बढी खरिद गरेका छन् ।
निजीवन बीमाका लगानीकर्तालेभने बढी बेचेका हुन् । सोमबार वाणिज्य बैंक समूह ४५.२० अंकले बढेको छ । निर्जीवन बीमा भने ५६.०९ अंकले घटेको हो । सोमबार सामुदायिक लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिरमिरे लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९.०६ प्रतिशतले बढेको हो । सोमबार सबै भन्दा बढी उपकार लघुवित्तको शेयर घटेको छ । उपकारको शेयर ७.४० प्रतिशतले घटेको नेप्सेले जनाएको हो ।