प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पहिलो पटक १० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले पहिलो पटक प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको समेत विनियोजन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले छोरीलाई शिक्षा र सीप प्रदान गर्न र उद्यमशीलता विकास गर्नका लागि सोही कार्यक्रमको घोषणा गर्दै आगामी आर्थिक वर्षका लागि बजेटको समेत विनियोजन गरेको हो ।
मंगलबार संघीय संसदका दुवै सदनमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमो सोही कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।
त्यसैगरी सरकारले युवा महिलाहरुको आवश्यकता, चुनौती र अवसरको बारेमा व्यापक छलफल गर्न आगामी आर्थिक वर्षभित्र युवा महिला राष्ट्रिय सम्मेलन पनि गर्ने योजना तय गरेको छ । मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाउने बताउनुभएको हो ।
महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सिर्जना गरिने अर्थमन्त्री पुनले बताउनुभयो ।