किराँत समुदायले उभौली पर्वलाई आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व बिहीबार देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।
बाली लगाउनुअघि गाउँ-गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको हो । गर्मी बढ्ने भएकाले सोही समुदायका मानिस बेंसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि जसको नाम उभौली रहेको छ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगी लगायतका जंगली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेंसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेंसी झरेका मानिस बिहीबारदेखि उभो लाग्छन् । उभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । जसका कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायकाबीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको हो ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिकाका मानिसले भने सोही पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐंसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यस पर्व मनाउने परम्परा रहेको हो ।
किराँत समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् ।
जसका लागि समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । सोही पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको हो ।