जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलो संसद सधैं बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद सधैं बन्धक बन्न नसक्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको उहाँको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्वाध रुपमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
उहाँले भन्नुभयो,-‘नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ । यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतका लागि समय मागि सक्नुभएको छ । यस्तो अवस्थामा सदन चल्ने वातावरण सिर्जनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिता जगतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको उहाँले बताउनुभएको छ । समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाकाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन पनि सभामुख घिमिरेले सुझाव दिनुभयो।