तनहुँको सदरमुकाम दमौलीमा २० वटा सटरमा भीषण आगलागी, लाखौं रूपैयाँको क्षति
काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा आइतबार राति भीषण आगलागी भएको छ ।
व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा आइतबार राति पौने १ बजेदेखि आगो लाग्न शुरु भएको प्रहरीले बताएको हो । आगलागीका कारण करिब २० वटा सटर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौंको क्षति भएको अनुमान प्रहरीले गरेको हो ।
३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ जलविद्युत आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी ४ वटा दमकलको सहायताले सोमबार बिहान पौने ४ बजे आसपास आगलागीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको हो ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल पुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको हो। केही समय पश्चात मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।
विद्युत चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको हो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । सोही स्थानका विभिन्न पसल सञ्चालनमा छन् ।