शेयर कारोबारमा उत्साहसँगै यो हप्ता ५२ अंकले नेप्से बढ्यो
काठमाडौं । यस हप्ता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ ।
हप्तामा ५ दिन नै कारोबार हुँदा एक दिन ९ अंकले बजार घटेको र अन्य ४ दिन बजार बढेको हो । समग्रमा नेप्से हप्तामा ५२.५३ अंकले बढेको छ । गत हप्ताको बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १९६६.२३ विन्दु कायम रहेको थियो । यस हप्ता भने बढेर परिसूचक २०१८.७६ विन्दु कायम भएको हो ।
कारोबारको हिसाबले २ दिन ४ अर्ब माथिको कारोबार भएको छ । २ दिन ३ अर्ब माथिको कारोबार भएको हो । एक दिन भने करिब ३ अर्बको कारोबार भएको छ । कारोबार र नेप्से परिसूचकको हिसाबले यो हप्ता नेप्से बुल ट्रेन्डमा रहेको देखिएको हो । नेप्से परिसूचक २ हजारमाथि पुगेर नेप्सेको मनोवैज्ञानिक रेखा पार गरेसँगै बजारमा उत्साह पनि थपिएको छ ।
१ वर्ष यता नेप्से १ हजार ८ सयदेखि २ हजार २ सयकोबीचमा घुमिरहेकाले अब नेप्सेले बुल ट्रेन्ड समात्ने वा वियर ट्रेन्ड के समात्ने हो । त्यो त्यसै भन्न सकिने अवस्था भने छैन । यस हप्ता बजारले सकारात्मक रूप लिएको बजारका जानकारहरू बताउने गरेका छन् । हप्ताको पहिलो नेप्से बढेर हप्ताको स्वागत गरेको थियो । आइतबार नेप्से ८.२६ अंकले बढेर १९७२.५० विन्दु कायम भएको थियो ।
आइतबार ३ अर्ब ११ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको ६८ लाख १८ हजार ४ सय ४९ कित्ता शेयर ४९ हजार २ सय ११ पटक किनबेच भएको थियो । आइतबार नेप्से परिसूचक उच्चतम १९८१.७९ र न्यूनतम १९६१.८९ विन्दुसम्म पुगेको थियो । आइतबार १ सय २७ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ११ कम्पनीको शेयर मूल्य घटेको हो । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
गत हप्ताको अन्तिम दिन अर्थात बिहीबारबाट बढ्न शुरु भएको शेयर बजार लगातार ३ दिन अर्थात सोमबार पनि बढेको हो । आइतबार ८ अंकले बढेको नेप्से सोमबार दोबरले अंक २४.३९ अंकले बढेको छ । सोमबार बजार बन्द हुँदासम्म नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दु पुग्यो । सोमबार नेप्से उच्चतम विन्दुमा पुग्दा मनोवैज्ञानिक रेखा समेत पार गरेको थियो । उक्त दिन नेप्से उच्चतम २०००.५५ र न्यूनतम १९७०.५४ विन्दुमा पुगेको थियो ।
सोमबार नेप्से भारी अंकले बढ्दा पनि कारोबार भने त्यति ३ अर्ब पुग्न सकेन । २ अर्ब ९६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ७० लाख ७३ हजार ८ सय ६४ कित्ता शेयर ४५ हजार २ सय ४५ पटक किनबेच भएको थियो । सोमबार १ सय ४८ कम्पनीको शेयर मूल्य बढेको थियो भने ८५ कम्पनीको शेयर मूल्य घटेको थियो । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।
शेयर बजारको बुल ट्रेन्ड मंगलबार पनि निरन्तरता पायो । गत बिहीबार ५ अंकले बढ्न शुरु भएको नेप्से मंगलबार एकै दिन २८.६२ अंकले बढ्यो । मंगलबार नेप्से १.४३ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा कायम भयो । मंगलबार नेप्से उच्चतम २०२७.५९ विन्दु र न्यूनतम १९९९.१४ विन्दुसम्म पुगेको थियो ।
मंगलबार नेप्से परिसूचकसँगै करोबारमा पनि उछाल आएको थियो । मंगलबार ४ अर्ब माथिको कारोबार भयो । उक्त दिन ४ अर्ब १ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको ८६ लाख ८५ हजार ७ सय ४८ कित्ता शेयर ५९ हजार ३ सय पटक किनबेच भयो । मंगलबार २ सय १९ कम्पनीको शेयर मूल्य बढेको र २२ कम्पनीको शेयर मूल्य घटेको हो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
नेप्सेको बुल ट्रेन्डमा बुधबार भने ब्रेक लाग्यो । निरन्तर बढी रहेको नेप्से बुधबार भने ९.५४ अंकले घट्यो । बुधबार नेप्से ०.४७ प्रतिशतले घटेर २०१७.९७ विन्दुमा कायम भएको हो । उक्त दिन नेप्से परिसूचक उच्चतम २०४८.२९ र न्यूनतम २०१२.५६ विन्दुसम्म पुगेको थियो ।
बुधबार बजार घटेसँगै मंगलबारको तुलनामा कारोबार पनि घट्न पुग्यो । बुधबार ३ अर्ब ६८ करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको ७८ लाख ८७ हजार ९ कित्ता शेयर ५५ हजार ३ सय ८५ पटक किनबेच भयो । उक्त दिन ६८ वटा कम्पनीको शेयर मूल्य बढेको थियो । १ सय ७२ वटा कम्पनीको भने शेयर मूल्य घटेको हो। ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
बिहीबार नेप्से अन्तिम २ मिनेटमा झिनो अंकले बढेको छ। बिहीबार नेप्से ०.७९ अंकले बढेर २०१८.७६ विन्दु कायम रहेको हो । हप्ताको अन्तिम दिन नेप्सेको कारोबारको हिसाबले भने लगानीकर्ताको उत्साह देखियो । बिहीबार ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता शेयर ५७ हजार २ सय १८ पटक किनबेच भयो ।
बिहीबार ३ सय १५ कम्पनीको शेयर कारोबार हुँदा १ सय ३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३९ कम्पनीको भने शेयर मूल्य घटेको हो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।