सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट
सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको पाइएको छ। कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
उनका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो। उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो।
उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवाल नेतृत्वको टोली खटिएको थियो। उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो। गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए।
प्रहरी पुगेपछि त्यहाँ भेला भएका स्थानीयहरू भाग्न थालेको एसपी सिलवालले बताए। आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए।
त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्याइएको थियो। कुटपिटबाट शारदाको शरीरमा निलडामहरू भएको उनले बताए। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए।
यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ।
प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।
त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।