नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग अब सानिमा बैंकका सबै शाखाबाट उपलब्ध
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेडका देशभरका शाखाबाट उपलब्ध हुने भएको छ ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले स्वतः पहिचान गर्नेछन् । त्यसपछि टोल शुल्क सम्बन्धित ट्यागबाट स्वतः कट्टा भई गेट खुल्ने व्यवस्था छ ।
यस प्रणालीले यात्रुलाई टोल भुक्तानीका लागि लाइनमा बस्नुपर्ने झन्झट हटाउनुका साथै छिटो र सहज यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सवारी धनीहरूले सानिमा बैंकका जुनसुकै शाखामा गएर एन–ट्याग लिन सक्नेछन् । ट्यागमा रहेको रकम इसेवा फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिनेछ ।
बैंकले काठमाडौं उपत्यकामा मात्र सीमित नराखी देशभरका शाखाबाट सेवा उपलब्ध गराएको जनाएको छ । यससँगै उपत्यकाबाहिरका सवारी धनीले पनि आफूलाई पायक पर्ने शाखाबाट एन–ट्याग लिन सक्नेछन् ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउन पाउनु गौरवको विषय भएको बताएका छन् । बैंकले आफ्नो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म सेवा पुर्याउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।