नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित
नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि नै अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
संघका निवर्तमान अध्यक्ष एवं माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल समाप्त भएपछि रेग्मी नयाँ नेतृत्वमा आएका हुन्।
त्यसैगरी, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। संघको कार्यकारी समितिका सदस्य रहेका खनाल उपाध्यक्षमा चयन भएका हुन्।
यस्तै, कार्यकारी सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्य चयन भएका छन्। संघको कार्यकारी समिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय रहने व्यवस्था छ। यसअघि कार्यकारी समिति सदस्य रहेका लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाहले पद छाडेपछि एक सदस्य पद रिक्त थियो।
त्यसैगरी, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङको दुई कार्यकाल पूरा भएको छ भने नेपाल बैंकका सीईओ तिलकराज पाण्डे थप एक कार्यकालका लागि कार्यकारी सदस्यमा रहने भएका छन्।