सन्दिपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु
नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ ।
नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । यो नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।
प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।
‘अदालतबाट पक्राउ पूर्जी जारी नभएको भए डिफ्यूजनका लागि प्रक्रिया अघि बढाउन सक्थ्यौं,’ उनले भने, ‘तर अदालतबाट पूर्जी जारी भइसकेकाले अनुसन्धानका क्रममा देखिएका थप प्रमाण समेत उल्लेख गरेर रेड नोटिस जारी गराउन कागजात जुटाउन थालेका छौं ।’\