टीआरसी विधेयक : पुनरावेदनको व्यवस्था राख्न प्रचण्ड सहमत
द्वन्द्वकालीन घटनामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जान सक्ने व्यवस्था राख्न माओवादी केन्द्र सहमत भएको छ ।
सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल गरिरहेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयकलाई सहमतिबाटै पास गर्नुपर्नेमा जोड दिए ।
मानवअधिकारको गम्भीर उल्लंघनबारे पीडित र मानवअधिकार आयोगले उठाएको चासोलाई सकेसम्म सम्बोधन गर्नुपर्ने भन्दै उनले भने, ‘हामीले सहमतिका साथ टुंग्यायौं भन्दा जाने सन्देश एउटा हुन्छ । सहमति हुन सकेन वा अल्पमत बहुमत गरेर टुंग्यायौं भन्दा जाने सन्देश अर्को हुन्छ ।’
सरकारले ल्याएको विधेयकमा मानवअधिकार उल्लंघन र मानवअधिकारको गम्भीर उल्लंघन भनेर छुट्याइएको छ । यसमा पीडित पक्षले विरोध गरेपछि के गर्ने भन्ने बहस छ । समितिको छलफलमा माओवादी नेता वर्षमान पुनले आर्बिटरी किलिङ अर्थात स्वेच्छाचारी हत्या राख्न सकिने बताए ।त्यसमा सहमत प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न सकिने पनि बताए । सरकारले ल्याएको विधेयकमा पुनरावेदनको व्यवस्था छैन, तर पीडितहरुले त्यसको विरोध गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अपीलको कुरा सडकमा पनि उठेको छ, भाषा मिलाएर राखिदिउँ भन्नेमा छु म चाहिँ ।