चोलेन्द्रशमशेर सँगको बयान आज सकिएन, भोलि फेरि डाकियो
निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसदको महाभियोग सिफारिस समितिले भोलि (बिहीबार) फेरि बयान लिने भएको छ।
बुधबार समितिमा उपस्थिति भएका राणासँगको बयान नसकिएपछि उनलाई बिहीबार बिहान ११ बजे फेरि बोलाइएको समिति स्रोतले जानकारी दिएको छ। समिति सदस्य रहेका नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले आज ४ वटा मात्र प्रश्न सकिएको बताए।
समितिले राणालाई सोध्न ४३ प्रश्न तयार पारेको छ।
समितिको बैठकमा राणाले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बयान दिने क्रममा उनले महाभियोग प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको टिप्पणी गरेका हुन्।
‘तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नुभएको थियो। महासचिव लीलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नु भएको थियो,’ राणाले भने, ‘त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ्य थियो। तर म मानिनँ। विधि र शासनको पालना गर्छु भनें। त्यही भएर उहाँहरू मेराविरूद्ध लाग्नुभएको हो।'
११ सदस्यीय महाभियोग सिफारिस समितिमा राणाले आफूमाथि लागेको महाभियोगबारे सफाइ दिइरहेका छन्। जवाफ दिने क्रममा उनले सांसदहरूलाई समेत प्रतिप्रश्न गरिरहेका छन्।
समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले राणाले सीमा बाहिर गएर कतिपय जवाफ दिइराखेको बताएका छन्।
‘उहाँले महाभियोग किन ढिला भयो भन्ने सम्मको जिज्ञासा राख्नु भएको छ,’ विश्वकर्माले भने, ‘उहाँले कतिपय प्रश्नमा सीमा बाहिर गएर जवाफ दिइराख्नु भएको छ।’
सांसदहरूले पनि राणाले उठाएका विषयमा प्रतिप्रश्न गरेका थिए।