शान्ति प्रक्रिया टुंग्याउँदा अन्तर्राष्ट्रिय चासो र मापदण्डलाई ख्याल गर्नुपर्छ, राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई जतिसक्दो छिटो टुङ्ग्याउने सरकारको चाहनाको स्वागत गरेकी छन् । तर, शान्ति प्रक्रिया टुंग्याउँदै गर्दा अन्तराष्ट्रिय चासो र मापदण्डलाई पनि ख्याल गर्नुपर्ने उनको सुझाव रहेको छ ।सरकारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ ल्याएको छ । यो विधेयक प्रतिनिधिसभामा पेश भइसकेको छ । सरकार र सत्तारुढ गठबन्धनले यो विधेयकलाई फास्ट ट्रयाकमा पास गर्ने तयारी गरिरहेका बेला राष्ट्रपतिले चासो राखेकी हुन् ।राष्ट्रपतिलाई भेट्न बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद बन्दी र महान्यायधिवक्ता खम्बबहादुर खाती राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । भेटमा सहभागी अधिकारीहरुका अनुसार छलफलमा मुख्यत: शान्ति प्रक्रियाकै विषयमा कुराकानी भएको थियो ।सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दीले राष्ट्रपतिलाई विधेयकले सम्बोधन गर्न खोजेका मुख्य विषयहरुबारे ब्रिफिङ गरे । सरोकारवाला पक्ष, पीडित पक्षलगायतसँग सातै प्रदेशमा गएर छलफल गरेर संकलित सुझावहरुलाई समेटेर विधेयक ल्याइएको भन्दै मन्त्री बन्दीले शान्त्रि प्रक्रियालाई अझ लम्बयाउन नहुने सुझाव सबैतिरबाट पाएको राष्ट्रपतिलाई सुनाए । सोही आधारमा सरकारले पनि विधेयकलाई संघीय संसदको चालू अधिवेशनबाटै पास गर्ने तयारी सरकार र सरकारमा रहेका दलहरुको भएको पनि जानकारी गराए ।
त्यसपछि राष्ट्रपतिले बाहिर आएका ‘अपराधको वर्गीकरण’ ‘परिपूरण’को विषय के हो भनी प्रश्न गरिन् । जवाफमा महान्यायधिवक्ता खातीले अन्तर्राष्ट्रिय मापदण्डलाई समेत ख्याल गरेर शान्त्रि प्रक्रियालाई टुंगोमा पुर्याउने नै सरकारको प्रमुख उदेश्य रहेको बताए ।
राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायको चासो र मापदण्डलाई ख्याल गर्नुपर्ने सुझाव दिइन् । साथै उनले शान्ति प्रक्रिया नेपालको भएपनि नेपालले विभिन्न सन्धि र अभिसन्धिहरुमा हस्ताक्षर गरेको, नेपालले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा रहेको उल्लेख गर्दै पछि प्रश्न नउठ्ने गरी जानु नै नेपालको हितमा हुने बताइन् ।राष्ट्रपतिको चासोलाई सम्बोधन गर्दै मन्त्री बन्दीले सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा जाँदा निश्चित जघन्य अपराधका घटनाहरुलाई ट्रायलमा लैजाने र अन्यको हकमा सहमतिमा टुंग्याउने अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यता रहेको उल्लेख गर्दै सरकारले पनि यही मोडेल अपनाउन खोजेको भनी राष्ट्रपतिलाई कन्भिन्स गर्न खोजे ।
यस्तै राष्ट्रपति भण्डारीले शान्ति प्रक्रिया जस्तो गम्भीर विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने उल्लेख गर्दै यसतर्फ ख्याल नगरिएको भनी आएको गुनासो के हो भनेर प्रश्न गरिन् । ‘यो राष्ट्रिय विषय हो । बहुमतमा भन्दा सहमतिमै जाँदा राम्रो हुन्छ । दलीय सहमति बिना आयो भन्ने पनि प्रश्न बाहिर आएको छ’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै भेटमा सहभागी अधिकारीले भने ।
जवाफमा कानुनमन्त्री बन्दीले आफूहरुले सबैपक्षसँग छलफल गरेको, संसदमा रहेका र संसद बाहिर रहेका कतिपय दलहरुसँग समेत छलफल गरेको, प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुसँग पटक-पटक छलफल गरेरै विधेयक ल्याएको दोहोर्याए । सरकारले ल्याएको विधेयकमा कुनै पनि दलको विरोध नरहेको जिकीर गरे ।फेरि पनि राष्ट्रपति भण्डारीले ‘सबैलाई न्याय हुने गरी ल्याउनुपर्यो । बाहिर उठेका विषयलाई पनि सम्बोधन गर्नुपर्यो । अन्तर्राष्ट्रिय चासो र मापदण्डलाई पनि ख्याल गर्नुपर्यो’ भनेर कानुनमन्त्री बन्दी र महान्यायाधिवक्ता खातीलाई सम्झाउन खोजिन् ।
राष्ट्रपतिले पटक-पटक अन्तर्राष्ट्रिय चासोको कुरा उठाएपछि कानुनमन्त्री बन्दीले नेपालको आफ्नै मौलिकपन पनि कतिपय सन्दर्भमा हुन सक्ने भनी प्रतिप्रश्न गरे । उनले सर्वोच्च अदालतबाट समेत परमादेश जारी भएको स्मरण गराए ।
‘अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसला, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र अहिलेको संविधानको मर्मअनुसार नै विधेयक आएको छ’, मन्त्री बन्दीले भने, ‘अहिलेसम्म जे कारणले शान्ति प्रक्रिया लम्बिदै आयो ती कारणहरुलाई समेत ख्याल गरेरै विधेयक आएको छ । यसले सबैको न्याय गर्छ ।’
विगतमा सर्वोच्च अदालतले ‘गम्भीर प्रकृतिका मानव अधिकार उलंघनका घटनाहरुमा मिलापत्र र माफी मिनाहा नहुने व्यवस्था गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन सरकारलाई आदेश’ दिइसकेको छ । तर, लामो समयदेखि शान्ति प्रक्रियाको टुंगो लाग्न सकेको छैन् । यही बेला सरकारले विधेयक ल्याएको हो ।
३१ असार २०७९ सालमा सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकले मुख्यत पाँच वटा विषय छन् । विधेयकमा ‘मानव अधिकार उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन भनेर फरक–फरक परिभाषा गरि सोही अनुसार न्याय निरूपण गर्ने भनिएको छ ।गम्भीर उल्लंघनको परिभाषामा ‘क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, जबरजस्ती करणी, जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्य र अमानवीय र क्रूरतापूर्वक दिएको यातना’ भनिएको छ । यस्तो मानव अधिकारको गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई क्षमादान नहुने भनिएको छ । मानव अधिकार उल्लंघनको हकमा भने क्षमादानको निवेदन आएमा जाँचबुझ गर्न सकिने उल्लेख छ ।यस्तै, पीडितलाई राहत दिन आयोगहरूले सामुदायिक परिपूरण कार्यक्रम सञ्चालन गर्न सिफारिस गर्न सक्ने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कार्यका लागि एउटा कोष रहने लगायतका विषय समेटिएको छ ।