आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् ।
यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी पूर्वानिर्धारित कार्यक्रम अनुसार भारतको भ्रमणमा छन् ।
असार मसान्तको नजिकमा अर्थ मन्त्रालय मूल नेतृत्वविहीन हुँदा मन्त्रालयभित्र पनि अन्योलको वातावरण छ । श्रीमती बिरामी भएको भन्दै विदामा बसेका सचिव मरासिनी मन्त्रीको राजीनामा आएकाले आकस्मिक विदा छोट्याएर फर्किने सम्भावना छ । तर, निश्चित भइसकेको छैन ।
चालु आर्थिक वर्ष २०७८/७९को पुँजीगत खर्च सोमबारसम्म ४२.५१ प्रतिशत मात्र भएको छ । राजस्व संकलनको लक्ष्य भेटाउन समेत अबको एक सातामा लक्ष्यको १७ प्रतिशत प्रगति प्राप्त गर्नुपर्नेछ ।