जनार्दन प्रकरण : बिचौलिया राजनीतिको कुरुप ऐना
पात्रका रूपमा अर्थ मन्त्रालयमा जनार्दन शर्मा वा त्यहाँ अर्को कुनै व्यक्ति हुनु आम मानिसका लागि त्यति ठूलो सरोकारको विषय होइन । किनभने, जो भए पनि एकजना मन्त्री हुने हो र त्यस्तो व्यक्ति सत्ताका प्रमुख खेलाडीहरूको अनुकूलतामै चयन हुन्छ । व्यक्तिका रूपमा जनार्दन शर्मालाई फरक पर्नु एउटा कुरा हो तर नीतिविहीन गठबन्धनका तर्फबाट जो अर्थमन्त्री भए पनि यसभन्दा केही फरक पर्दैन भन्नेमा कुनै शंका छैन । तर अहिले प्रश्न व्यक्तिको मात्र रहेन ।मन्त्रीका रूपमा शपथ खाएर अर्थ मन्त्रालयको नेतृत्व गरेका व्यक्तिले बजेटलाई अन्तिम रूप दिंदा व्यापारीका एजेन्टलाई राखेर मध्यरातमा करका दरमा हेरफेर गर्नु राष्ट्रद्रोह भन्दा कमको अपराध होइन । व्यापारीका स्वार्थमा हिंडिरहेकोमा कुनै शंका छैन । यहाँ त उनकै प्रतिनिधि राखेर बजेट बनाउने अभ्यास आरम्भ भएपछि अब राज्यका बारेमा आम मानिसले बनाउने धारणा कस्तो होला ?